वन तथा वातावरण मन्त्रालयको मूल उद्देश्य नेपालको वन, वनस्पती, वन्यजन्तु, वातावरण, जलाधार र जैविक विविधताको संरक्षण तथा व्यवस्थापन गर्नु रहेको छ । यस मन्त्रालयमा माननीय मन्त्रीज्यूको नेतृत्वमा प्रशासकीय प्रमुखका रुपमा सचिवबाट मन्त्रालयको दैनिक कार्यसञ्चालन हुँदै आएको छ। यस मन्त्रालयमा छ वटा महाशाखाहरु र २६ वटा शाखाहरु रहेका छन्। सह-सचिवले महाशाखाको प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्ने व्यवस्था रहेको छ । एक जना नेपाल प्रशासन समूहका सहसचिव रहने ब्यवस्था रहेको छ भने बाँकी सबै पाँच जना महाशाखा प्रमुखहरु नेपाल वन सेवाको रहने व्यवस्था रहेको छ। हाल यस मन्त्रालय अन्तर्गत चार वटा विभागहरु ( वन तथा भू-संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वनस्पति विभाग र वातावरण विभाग), एक वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, एक रेड कार्यान्वयन केन्द्र रहेका छन् । यसका अतिरिक्त यस मन्त्रालय मातहतमा राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, नेपाल वन निगम लिमिटेड, वन पैदावार विकास समिति, जडिवुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र राष्ट्रिय ताल संरक्षण विकास समिति समेत रहेका छन् ।